चामलको बिल भएकाे र राजश्व छलेर चोरी-पैठारी गरी ल्याइएका सुर्ती, चेरी पान मसला र चैनी पान मसला बोकेको ट्रकलाई पर्सा प्रहरीले बिल बिजकभन्दा फरक सामानहरू ढुवानी गरेको भेटिएपछि एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोमबार राति बीरगन्ज महानगरपालिका २१ परवानीपुर चोकबाट ना. ८ ख ३४२६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीका अनुसार उक्त मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड गरिएका चामलको बिल मात्र साथमा रहेको तर सूर्तीजन्य वस्तु पनि लोड गरेको पाइएको थियो ।

१६ बोरा सूर्ती, १४ बोरा चैनी पान मसला तथा १० बोरा चेरी पान मसला ट्रकमा ढुवानी गरेको बताइएको छ । ट्रकलाई नियन्त्रणमा लिई ३८ लाख ६० हजार १०० मुल्य बराबरको सामग्री बरामद गरिएको थियो ।

नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक अनुसंधान को लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ