वीरगञ्ज, चैत १० – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्साबाट खटिएको टोलीले श्रोत नखुलेको दश लाख पाँच हजार रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र मण्डलको कमाण्डमा खटिएको टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६, भन्सार जाँच बिन्दु नजिकै चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR22BG 1408 नम्बरको सुपर स्प्लेंडर भारतीय मोटरसाइकल रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलको सिटमुनी कालो पोलिथिनमा प्याक गरिएको र केही रकम खुल्ला रुपमा लुकाई छिपाई ल्याइएको अवस्थामा नेपाली रुपैयाँ १०,०५,००० (दश लाख पाँच हजार) फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकलसहित रकम बोकेर आएका वीरगञ्ज महानगरपालिका–१७, अलौ निवासी २९ वर्षीय प्रदीप कुमार साह लाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।