मेलम्ची, सिन्धुपाल्चोक – २०८२ असार २ गते
खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सोमबार मेलम्ची खानेपानी आयोजनाको महत्त्वपूर्ण संरचना रिबर्मा खोलामा निर्माण गरिएको पानीको ट्याङ्कीको स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरेका छन् ।
निरीक्षणपछि मन्त्री यादवले बर्खायाममा पनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा अविरल रूपमा आपूर्ति गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । सोही निर्णय अनुसार आजैको मितिबाट रिबर्मा खोलाको पानी मेलम्ची सुरुङमार्गमा प्रवाह गरिएको छ ।
मन्त्री यादवले जानकारी दिंदै भने, "अबदेखि काठमाडौंवासीहरूले वर्षभरि मेलम्चीको पानी नियमित रूपमा पाउनेछन्, जुन सबैको साझा चाहना, संघर्ष र धैर्यको फल हो ।"
उक्त अवसरमा मन्त्री यादवले मेलम्ची आयोजनालाई सार्थक बनाउने प्रक्रियामा साथ दिने स्थानीयवासी, जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, प्राविधिक तथा कर्मचारीहरूप्रति विशेष धन्यवाद व्यक्त गरे ।
उनले थपे, "हामी सबैको साझा प्रयास र प्रतिबद्धताले मेलम्ची आयोजनाले सार्थकता पाएको छ। अबको यात्रामा पनि तपाईंहरूको साथ, विश्वास र मार्गदर्शन आवश्यक हुनेछ ।"
यो उपलब्धिले मेलम्ची खानेपानी आयोजना फेरि सक्रिय र विश्वासिलो चरणमा प्रवेश गरेको संकेत दिएको छ । काठमाडौं उपत्यकावासीलाई दीर्घकालीन रूपमा शुद्ध खानेपानी आपूर्ति गर्ने लक्ष्यका साथ अगाडि बढेको यो परियोजनाले सर्वसाधारणको आशा पुनः जगाएको छ ।