२४ जेठ बीरगंज-भारतबाट चोरी पैठारी गरी नेपाल भित्र्याइएको ७५ कार्टुन (७५०० गोटा) प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
उक्त चल्ला बहुदरमाई नगरपालिका–५, डकैला चोकमा तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमार्फत लोड गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा फेला परेको हो । चोरी पैठारी गरेर ल्याइएका ती चल्लाहरूलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा नं. १३ गणको परिसरमा नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
यस अवैध पैठारी कार्यमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलहरू आवश्यक कानुनी कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको समेत जानकारी दिइएका छन् ।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहका अनुसार सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, विशेष सुराकीको आधारमा निगरानी तथा छापा, मोबाइल टोलिको परिचालन, स्थानीय निकाय तथा भन्सार कार्यालयसँग सहकार्यजस्ता उपायहरूलाई प्रभावकारी बनाइएको छ ।
“हामीले सीमा सुरक्षालाई थप मजबुत बनाएका छौं,” सूचना अधिकारी सिंहले भन्नुभयो, “राष्ट्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बल पूर्ण प्रतिबद्ध छ। अवैध कारोबारमा संलग्न हुने कुनै पनि समूह वा व्यक्तिमाथि कानून अनुसार कडा कारबाही गरिनेछ ।”
सशस्त्र प्रहरी बलले सीमामा रहेका नागरिकहरूलाई समेत सचेत रहन र कुनै पनि शंका लाग्दा सुरक्षाकर्मीलाई जानकारी गराउन आह्वान गरेको छ। यस प्रकारको समन्वयले मात्र सीमाको सुरक्षालाई दीगो बनाइने सुरक्षा निकायको धारणा छ ।