पर्साको ठोरी-५ सुवर्णपुरमा एक युवकले सिलिङ फ्यानमा झुन्डिएर आत्महत्या गरेको छ । हेटौंडा-१० कर्रा स्थाई घर भइ हाल ठोरी-५ सुवर्णपुरमा घरभाडामा बस्दै आएका २८ वर्षीय राज कुमार लामा आफ्नै कोठाको सिलिङ फ्यानमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

मृतक लामा विगत ११ महिना देखि स्थानीय प्रेम हेन्जनको सुवर्णपुर बजारमा रहेको घरमा डेरा बहालमा बस्दै आइरहेका थिए । ठोरी-५ सुवर्णपुरमा रहेको निर्धन लघुवित्ता वित्तीय संस्था लिमिटेडबाट बिजय बस्तीका लागि फिल्ड सहायक पदमा कार्यरत थिए । घटनास्थलको छानबिन तथा पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै आत्महत्याको कारण खुल्ने ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

असफलता, पारिवारिक सम्बन्धमा खटपट, गरिबी, बरोजगारी, पारिवारिक माया ममताको कमी महसुस, गरिबी, नैराश्यता, दीर्घ रोग, आर्थिक लेनदेन लगायतका कारणले आत्महत्याका घटना बढेर गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा मात्रै ६ हजार सात सय ९२ जनाले आत्महत्या गरेका छन् । यसलाई आधार मान्दा देशभर दैनिक कम्तीमा १८ जनाले आत्महत्या गर्छन् ।