मधेश प्रदेशको दुई सिटमा राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका छन् । राष्ट्रिय सभाका मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा जसपाकी चौधरीले उम्मेदवारी दिएका थिए । 

जसपाकी चौधरीले ७ हजार ९ सय २९ मत पाए भने कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मत ल्याएर निर्वाचित भएका छन् । एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

मधेशमा कुल मतभार १० हजार ८ सय ३९ रहेको छ । राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको सतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन् । 

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्यामा जिल्ला अदालत महोत्तरीबाट कसुरदार ठहर भएका प्रदेश सांसद शर्माले राष्ट्रिय सभाको चुनावमा मत हालेनन् ।

यस्तै, राष्ट्रिय सभाको निर्वाचनलाई बिथोल्ने मनसायले प्रभु साहको पार्टी आम जनता पार्टी (आजपा)ले जनकपुर लक्षित गरेको प्रदर्शनमा धनुषा प्रहरीले उनका ६० जनाभन्दा बढी कार्यकर्ता नियन्त्रणमा लिएको छ ।