काठमाडौं, ९ वैशाख ।
विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोपपछि तीव्र आलोचनामा परेका गृहमन्त्री सुधन गुरुङ ले अन्ततः पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाएका हुन् ।
गुरुङले सामाजिक सञ्जालमार्फत आफूले नैतिक जिम्मेवारी वहन गर्दै पद त्याग गरेको जानकारी दिएका छन् । पछिल्लो समय उनीमाथि विभिन्न आर्थिक अनियमितता तथा विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि सरकारमाथि पनि दबाब बढ्दै गएको थियो ।
प्रधानमन्त्री शाहले पदभार सम्हालेकै दिन गठन भएको मन्त्रिपरिषद्मा गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । सुरुवाती चरणमा केही उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।
उच्च स्रोतका अनुसार, रवि लामिछाने सँग भएको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय गरेका हुन् । यस घटनालाई सरकारभित्रको आन्तरिक दबाब र सार्वजनिक असन्तुष्टिको परिणामका रूपमा हेरिएको छ ।
अब गृहमन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा सरकारभित्र छलफल सुरु भएको बताइएको छ ।