बीरगंञ।नेपाली इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान २०८० फागुन १२ गते (सोमबार) बेलुका चन्द्रमाको दर्शन गरेसँगै पर्व शुरू भएको थियो ।
हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका सबै भागका साथै बीरंगञ्ज मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।
यो पर्व सुरु भएको एक महिनासम्म चल्ने गर्दछ । यस अवधिमा रोजा (उपवास) बस्ने तथा तरावी अर्थात् विषेश नमाज पढ्ने गरिन्छ। पर्व सुरु भएको एक महिना सम्म सूर्य अस्ताएसँगै इफ्तार (साँझको खाना) खाएर यो पर्व समाप्त गरिन्छ।
हिजरी संवत्को पात्रोअनुसार रमदान आज सकिएर भोलि बिहीबार शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।इस्लाम परम्परामा चन्द्रमास (इस्लामिक पात्रोअनुसार) तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छन् ।
रमजानमा पाँच पटक नमाज पढेसँगै बेलुकी ८ बजेदेखि तरावी अर्थात् विषेश नमाज पढ्ने गरिन्छ। जसमा कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले महिनामा ३० खण्डमा रहेको कुरान पढाउने गरिन्छ। कुरान पढ्न नआउनेहरूले पनि यो समय कुरान सुनेर समेत पुण्य कमाउन सक्ने जानकार बताउँछन्।
इसलामिक धर्मका पाँच आधारस्तम्भ सहादा (मुस्लिमपन्थको स्वीकारोक्ति), नमाज (प्रार्थना), रोजा (रमदान महिनाको उपवास), जकात (आफ्नो कमाइबाट गरिबलाई दिन छुट्याइने रकम) र हज (मक्काको तीर्थयात्रा) रहेका छन्। “मक्का जाने कुरा आर्थिक अवस्थासँग जोडिने हुँदा स्वेच्छिक देखिन्छ, तर अन्य चार सबै मुसलमानका लागि अनिवार्य हुने गर्दछ ।
वास्तवमा इस्लाम धर्मको पात्रो हिजरीअनुसार यसै महिनामा धार्मिक ग्रन्थ कुरानको जन्म भएकाले इस्लाम धर्मावलम्बीले १२ महिनामध्ये यस महिनालाई पवित्र महिनाको रूपमा लिने गर्दछन्।रमजान महिना अवधिभर दिनभर भोको रहेपछि बेलुकी सूर्य अस्ताएसँगै सामूहिक रूपमा इफ्तार (साँझको खाना) खाने गरिन्छ। त्यस्तै बिहान सूर्य उदाउनुअघि नै सेहरी अर्थात् बिहानको खाना खाएर दिन शुरू हुन्छ।
प्रत्येक नाबालक/बालिका, अशक्त बाहेक इस्लाम धर्म मान्ने सबैले अनिवार्य रोजा बस्नुपर्ने प्रचलन रहिआएको छ।महिलाहरु महिनावारी भएको खण्डमा भने रोजा तोडिन्छ। साथै महिनावारीको समय सकिएपछि निरन्तरता दिन सकिन्छ। महिनावारी हुँदा जति दिन रोजा तोडिन्छ त्यति नै दिन बाँकि ११ महिनाभित्रमा बसेर तिर्न सक्नुपर्छ ।
इस्लाम मान्यताका अनुसार अल्लाहले पहिलोपटक जिब्रहिल अलेही सलाहमार्फत कुरानलाई पैगम्बर हजरत मुहम्दसम्म पुर्याएका थिए। त्यसपछि अलि अलि गरेर २३ पटकसम्म उनलाई कुरानको ज्ञान दिएको धार्मिक विश्वास रहेको छ। पछि सन् ६३२ मा पैगम्बर मोहम्मदको निधन भएपछि खलिफा हजरत अबु बकरले सन् ९३४ पछि कुरानलाई एक ग्रन्थको रूपमा आकार दिएको पनि भनिन्छ।
रमजानको अन्तिम दिन इदुल फित्रको नमाज पढेसँगै एक महिना लामो रोजा समापन हुन्छ। जस्लाई बडो खुशियाल का साथ सामूहिक रूपमा विभिन्न परिकार खाने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने गरिन्छ। यसरी नै विधिवत रूपमा रमजान पर्वको समापन हुन्छ।