भदौ ३१, मोरङ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएका ठूलो परिमाणका ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । मोरङको सुनवर्षी नगरपालिका –८, हरिश्चन्द्रगढीस्थित सीमा इलाकाबाट प्रहरीले ७ हजार गोटा ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको हो ।
मिति २०८३ साल भदौ ३१ गते राति करिब २:५० बजे भारतबाट नेपालतर्फ अवैध रूपमा चल्ला ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल, बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले निगरानी तथा नियन्त्रणको प्रयास गरेको थियो ।
धान खेतको आलीलाई बाटो बनाएर केही व्यक्तिहरूले १४ वटा भारमा १४० कार्टुन ब्रोइलर कुखुराका चल्ला नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सुरक्षा टोलीलाई देखेपछि उनीहरूले चल्ला छाडेर भारततर्फ फरार भएका थिए ।
सशस्त्र प्रहरीले घटनास्थलबाट ७ हजार गोटा चल्ला बरामद गरी बीओपी सिक्टीमा ल्याएर सुरक्षित राखेको जनाएको छ । बरामद चल्लाको अनुमानित मूल्य रु. ७ लाख रहेको बताइएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई प्रभावकारी बनाउँदै आएको छ । यसैक्रममा रातको समयमा समेत सीमा क्षेत्रमा गरिएको सक्रिय निगरानीका कारण ठूलो परिमाणमा चल्ला नेपाल भित्र्याउने प्रयास विफल भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वाटर कंकालिनी, मोरङका एसपी गेहेन्द्र भण्डारीको नेतृत्वमा सीमा क्षेत्रमा भइरहेको सक्रियता र सुरक्षा निगरानीका कारण अवैध गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता मिलेको देखिएको छ । विशेषगरी सीमावर्ती क्षेत्रमा हुने तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीको निरन्तर परिचालनले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सहयोग पुगेको छ ।
बरामद चल्ला सम्बन्धमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको समेत पहिचान तथा खोजीका लागि आवश्यक अनुसन्धान भइरहेको छ ।