इजरायल, असार ३१, २०८३ । इजरायलको तेल अभिभ लगायत विभिन्न स्थानमा शनिबार सरकारविरुद्ध साप्ताहिक प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणसम्बन्धी छानबिनका लागि सरकारले प्रस्ताव गरेको राजनीतिक नियुक्तिको अनुसन्धान आयोगको विरोध गरेका छन् ।
प्रदर्शनमा सहभागी बन्धकका आफन्तहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि स्वतन्त्र राज्यस्तरीय छानबिन आयोग गठन नगरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार राजनीतिक प्रभावमा रहने आयोगले घटनाको निष्पक्ष अनुसन्धान गर्न नसक्ने बताएका छन् । सरकारले ल्याएको विधेयकअनुसार आयोगमा सत्तापक्ष र प्रतिपक्षले समान रूपमा सदस्य नियुक्त गर्ने व्यवस्था रहेको छ । तर प्रतिपक्षले सहभागिता जनाउन अस्वीकार गरे पनि आयोग सञ्चालन हुन सक्ने प्रावधान राखिएको भन्दै आलोचना भइरहेको छ ।
यसैबीच जेरुसेलममा भएको प्रदर्शनका क्रममा पाँच जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनकारीहरूले अनुमति बिना जुलुस निकालेको, सडक अवरुद्ध गरेको तथा उच्च आवाजमा ध्वनि उपकरण प्रयोग गरेको आरोप लगाएको छ ।