मधेश प्रदेशका मुख्यमन्त्री सहितको टोलीको यूरोप भ्रमण रद्द गरिएको छ ।

चुनावको मिति घोषणासँगै संघीय सरकारको मन्त्रिपरिषदले निर्णय नगरेकोले भ्रमण रोकिएको अर्थ मन्त्री तथा सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

प्रदेश सरकारले असार ३१ गते मन्त्रिपरिषदबाट यूरोप भ्रमणमा जाने निर्णय गरि सकेको थियो । निर्णय पश्चात प्रदेश सरकारको टोली रातो पास्पोर्ट र भिसा आवेदनको लागि साउनको पहिलो साता नै काठमाडौं पुगेको थियो ।

स्वीट्जरल्यान्डको संघीयता मोडेलबारे अध्ययन गर्न मधेस सरकारको टोली भ्रमणमा जाने तयारी गरेको थियो । जेनेभा विश्वविद्यालयको निमन्त्रणामा बस्ने, खाना र व्यवस्थापनको जिम्मा आमन्त्रण गर्ने पक्षले नै लिएको थियो भने टिकट खर्च प्रदेश सरकारले आफै व्यहोर्ने गरी तयारी गरिरहेका थिए । सबै पार्टीको प्रतिनिधित्व हुने गरी भ्रमण टोली बनाइएको थियो । उक्त टोलीमा मुख्यमन्त्री राउतसँगै मधेश प्रदेशका सभामुख सरोज कुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवको नाम समावेश गरिएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की प्रदेशसभा सदस्य रानी शर्मा, नेकपा (एमाले) की प्रदेशसभा सदस्य शारदादेवी थापा, प्रदेशसभाका सचिव रञ्जित यादव लगायतको टोली यूरोप भ्रमणमा समावेश थिए ।

यसअघि पनि मुख्यमन्त्री राउत केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अमेरिका जाने तयारी गर्नुभएको थियो । त्यति बेला पनि संघीय सरकारले सिफारिस नगरेकोले मुख्यमन्त्री राउत अमेरिका जान पाउनुभएको थिएन ।