संसद्‌ भवन अगाडि आफैँलाई आगो लगाएका पूर्वी नेपालको इलामका एकजना व्यवसायी युवाको बुधवार निधनभएपछि उनले त्यसरी मृत्युवरण गर्नुको कारणबारे अनुसन्धान सुरु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा गृह मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

मृतक प्रेमप्रसाद आचार्यले चाहिँ आफूले त्यस्तो कदम चाल्नुअघि सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो विवरण लेख्दै “आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेको” र त्यसका लागि “सरकारी नीतिहरू दोषी रहेको” उल्लेख गरेका थिए।

सोही कारणबाट आफूले मानसिक समस्या भोगेको र “कुनै उपाय नदेखेपछि आत्मदाहको बाटो रोजेको” उनको फेसबुकमा उल्लेख छ।

यद्यपि फेसबुकमा त्यसरी व्यक्त गरिएका कुरा आचार्यकै हुन् वा होइन भन्नेबारे पनि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

मङ्गलवार दिउँसो आचार्यले काठमाण्डूको बानेश्वरस्थित संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाएका थिए।

उनलाई कीर्तिपुरस्थित 'बर्न अस्पताल' मा उपचारका लागि लगिएको र उपचारकै क्रममा बुधवार उनको निधन भएको प्रहरीले जनाएको छ।

आचार्यले के लेखेका छन्?

मङ्गलवार फेसबुकमा राखिएको पोस्टमा आचार्यले सुरुमा आफूले काठमाण्डूमा ट्राभल एजेन्सी खोलेर व्यापार गरेको र त्यो असफल भई ऋण लागेपछि वैदेशिक रोजगारीमा गएको उल्लेख छ।

वैदेशिक रोजगारीबाट फर्केर पुरानो कर्जा चुक्ता गरी इलाम फर्किएर कृषिमा आधारित सानो उद्योग खोलेको र विभिन्न उत्पादनहरू नेपालका नाम चलेका व्यापारिक स्टोरहरूलाई उधारोमा दिएको लेखिएको छ।

तर उधारो लगिएको सामानको समयमै भुक्तानी नपाइएको, ऋण बढ्दै गएको र व्यक्तिगत ऋण लिनु परेको अनि व्यवसाय नै डुब्ने अवस्था बनेको उनले उल्लेख गरेका छन्।

व्यवसाय डुबेपछि आफू मानसिक समस्यामा समेत परेको आचार्यको फेसबुकमा एकाउन्टमा उल्लेख छ।

उनले आफ्नो यस्तो अवस्था हुनुमा मुख्यतः राज्य र उसका नीतिहरू दोषी रहेको उल्लेख गरेका छन्।


उनले उठाएका प्रश्नहरू

आचार्यले उठाएका प्रश्नहरू सरकारी नीति, नेपालको राजनीतिक र आर्थिक प्रवृत्तिसँग सम्बन्धित देखिएका छन्।

उक्त विवरणमा त्यस्ता २५ वटा समस्या उल्लेख गर्दै समाधानका लागि सरकारलाई आग्रह पनि गरिएको छ।

अधिकांश मागहरू नेपालको आर्थिक नीतिसँग सम्बन्धित छन्।

त्यस्ता मागमा राष्ट्रिय उत्पादनमा मूल्य अभिवृद्धि कर भ्याट शून्य गर्नुपर्ने, कुनै पनि उत्पादन किन्नेले सुरुमै पूर्ण भुक्तानी दिनुपर्ने र उधारोमा सामान किन्न नपाउने व्यवस्था गर्नुपर्ने तथा जग्गाको स्वामित्व अनन्तसम्म हुने व्यवस्था अन्त्य गर्नुपर्ने जस्ता विषय छन्।

त्यस्तै गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने, घर बहाल कर अनिवार्य गरेर घरधनीसँगै उठाउनुपर्ने, शिक्षित व्यक्ति वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति नलिई जान पाउनुपर्ने व्यवस्था गर्नुपर्ने, स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायातलाई सहज र सरल बनाउनु पर्ने, ब्याङ्कहरूको धितो नीति परिमार्जन हुनुपर्ने, बचत तथा ऋण सहकारी, फाइनान्स कम्पनी र माइक्रो फाइनान्सलाई खारेज गर्नुपर्ने जस्ता विषय पनि उनले उठाएका छन्।

उक्त स्ट्याटसमा नेपालका प्रतिष्ठित भनिएका कैयौँ व्यापारिक समूहहरू तथा नेपालका चर्चित व्यक्तिहरूलाई पनि कतिपय विषयमा आरोप लगाइएको छ।


‘अनुसन्धान सुरु भइसक्यो’

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले मङ्गलवारको घटनाबारे त्यसै दिनबाट अनुसन्धान सुरु भइसकेको बताए।

उनले भने, “त्यो घटना भएपछि प्रहरीले नै उनलाई अस्पताल पुर्‍याएको हो र अनुसन्धान सुरु भइसकेको छ।”

“परिवारसँग सम्पर्क गरेर बुझ्दा उहाँ डिप्रेसनमा हुनुहुन्थ्यो भन्ने कुरा आएको छ। थप प्रहरीले हेर्दैछ।”

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले पनि प्रहरीले अनुसन्धान गरिरहेको बताए।

उनले भने, “काठमाण्डू प्रहरी परिसरले त्यसबारे अनुसन्धान गरिरहेको छ। हामी सबै खाले सम्भावित कारणबारे अनुसन्धान गर्नेछौँ।”

गृहमन्त्रीले के भने?


गृहमन्त्री रवि लामिछानेले “राजनीतिमा नयाँ दलको आगमनले समेत” प्रेमप्रसाद आचार्यजस्ता व्यक्तिमा उत्साह थप्न नसकेकोमा आफूलाई दुःख लागेको बताएका छन्।

उनले बुधवार बिहान फेसबुकमा लेख्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्।

लामिछानेले लेखेका छन्, “एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र? यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ।“

“मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो। दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाह को निर्णय फेर्न सकेन।“

“यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नु होला। तपाईँको आत्माले चिर शान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।“



साभार : बिबिसि नेपाली