बिरगञ्ज-आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन जन्मदाता आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ ।
नेपाली शब्दकोश मा आमा लाई जननी,माता,महतारी ,जन्मदिने स्त्री का पर्यायका रूपमा अर्थाइएको छ ।
कुपुत्रो जायते क्वचदपि कुमाता नभवति’ अर्थात् सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् भन्ने मान्यता छ।दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।
धर्मशास्त्रमा आमाको स्थान परमात्माभन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ ।अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ।सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।
वैशाख कृष्ण औँसीका दिन छोराछोरी आज बिहानै उठी स्नान गरी आफ्नी आमालाई विभिन्न उपहारसहित नयाँ लुगा लगाइदिने, आमालाई मनपर्ने पकवान खुवाउने, तागतिला खानेकुरा खान दिई आशीर्वाद थापि यो पर्व मनाइने परम्परा रहेको छ ।
दिवंगत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका- ६ मातातीर्थ कुण्डमा मेला लागेको छ।आमा नभएकाहरुले दिवङ्गत आमाको नाममा श्राद्ध गरी स्मरण गर्ने गर्दछन् ।त्यहाँ गएर स्नान गरि पिण्ड एवम् सिदा दान गरेमा आमाको मृत आत्माले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।
नेपाली हिन्दूहरुले वैशाख कृष्ण औँशी आमाको मुख हेर्ने र भाद्र कृष्ण औँसी बुवाको मुख हेर्ने पर्वका रुपमा मनाउने चलन छ ।
आज २०८१/१/२६ वैशाख कृष्णपक्ष मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) बिहान ९ बजेर ६ मिनेटसम्म मात्र औँसी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ।