३० असार बीरगञ्ज -वर्षायाम सुरु भइसकेछ। वर्षायाम सुरु हुने लगत्तै विभिन्न किरा फट्याङ्ग्राहरु घर आँगनमा आउने गर्छ। यसमध्ये नाइरोबी फ्लाइ पनि एक हो ।
प्रायः जसो वर्षायाममा देखिने नाइरोबी फ्लाइ पानी परेपश्चात वा बढी आद्रता भएको स्थानमा पाइने गर्दछ । नेपालमा मनसुन भित्रिएसँगै पूर्वी भेग तथा पश्चिम भेगहरूमा नाइरोबी फ्लाइ देख्न थालिएको छ ।
झट्ट किराको नाम सुनिँदा विदेशी नाम भएर विदेशबाट आएको किरा जस्तो लाग्न सक्छ। तर नाइरोबी फ्लाइ किरा बाहिरी मुलुकबाट नआइ यही उत्पादन हुने गर्दछ ।नाइरोबी फ्लाइ सुन्तला र कालो रंगको एक सानो किरा हो । किराले लामखुट्टे जस्तो सङ्क्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन। जनस्वास्थ्यमा ठूलोरुपमा यो किराले संक्रमण ल्याउँदैन।
यसले मानवलाइ टोक्दैन तर मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ। उक्त किराले निकाल्ने एक प्रकारको अम्ल (Acid) पेडेरिन तत्व एसिडले छालामा संक्रमण गराउँछ।
यसको संक्रमण भएमा छालामा चिलाउने, जलन हुने, छाला रातो हुने, जनैखटिरा जस्तै खटिरा देखिने र १२ देखी ३६ घण्टा पश्चात उक्त घाउबाट तरल पदार्थ चुहिने जस्ता लक्षण देखा पर्दछन ।
नाइरोबी फ्लाइ किरा सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ। किराबाट हुने संक्रमणबाट पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने गरेको चिकित्सकहरू बताउँछन् ।
नाइरोबी फ्लाइ संक्रमण बारे रोकथाम
• नाइरोबि फ्लाइ किराको सम्पर्क बाट बच्नको लागी राती सुत्दा झुलको प्रयोग गर्ने, लामो बाहुला भएको लुगा लगाउने, रातीको समयमा चम्किलो उज्यालो भएको बत्तिमुनी नबस्ने (अरु किराजस्तै नाइरोबी फ्लाइ किरापनि बत्तिमा आकर्षित हुने गर्दछ।)
• यदि किरा तपाईंको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुकेर भगाउनुहोस, मार्ने काम नगर्नुहोस ।
उपचार र व्यवस्थापन
• किरा बसेको छालाको भागलाइ सावुन पानीले राम्ररी सफा गरेर धुने, चिसो पानीले सेक्ने ।
• थप उपचारको लागी स्वास्थ्यकर्मीको सल्लाह लिने । सामान्यतया यो संक्रमण ७ देखी २८ दिन भित्रमा निको भएर जान्छ ।