वीरगन्ज, २७ असार।

वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख ईम्तियाज आलम ले निजी विद्यालय र अभिभावकबीच उत्पन्न हुने कुनै पनि समस्या समाधानका लागि महानगरपालिका सदैव निष्पक्ष र जिम्मेवार भूमिकामा रहने बताउनुभएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साद्वारा वीरगन्जस्थित होटल भिस्वामा आयोजित ‘एसईई २०८२ एक्सीलेन्स अनर अवार्ड’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले विद्यार्थी, विद्यालय र अभिभावकबीच आपसी विश्वास, समन्वय र सहकार्य बलियो भए मात्रै शिक्षा क्षेत्र अझ प्रभावकारी बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न समयमा विद्यालय व्यवस्थापन र अभिभावकबीच शुल्क, व्यवस्थापन तथा अन्य विषयमा विवाद उत्पन्न हुने गरेको उल्लेख गर्दै त्यस्ता समस्याको समाधानका लागि महानगरपालिका आवश्यक सहजीकरण गर्न सधैं तत्पर रहेको स्पष्ट पार्नुभयो ।

कार्यवाहक प्रमुख आलमले आर्थिक अभावका कारण महानगरभित्रका कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिँदै विद्यालयले अभिभावकको अवस्था बुझ्नुपर्ने र अभिभावकले पनि विद्यालय सञ्चालनका चुनौतीलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो । दुवै पक्षबीच समझदारी र सहकार्य कायम भएमा विद्यार्थीको भविष्य उज्ज्वल बन्ने र महानगरको समग्र शैक्षिक गुणस्तरमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका नेशनल प्याब्सनसँग आबद्ध २० वटा विद्यालयका ५६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। पर्सा जिल्लाभरि नै ४.०० जीपीए प्राप्त गर्न सफल जि.एच.पी. विद्यालयका ६ जना तथा कादम्बरी स्कुलका २ जना विद्यार्थीलाई विशेष सम्मानका साथै सम्बन्धित विद्यालयलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट विद्यार्थीहरूलाई खादा, टीका तथा सम्मानपत्र प्रदान गर्दै उनीहरूको उपलब्धिको उच्च प्रशंसा गरिएको थियो ।

समारोहमा बोल्ने वक्ताहरूले विद्यार्थीहरूको सफलता निरन्तर मेहनत, अनुशासन, अभिभावकको साथ, शिक्षकको समर्पण तथा विद्यालयको गुणस्तरीय शैक्षिक वातावरणको प्रतिफल भएको उल्लेख गरेका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता उपलब्धिले अन्य विद्यार्थीलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ता ले एसईई २०८२ को उत्कृष्ट नतिजाले निजी विद्यालयप्रतिको जनविश्वास अझ सुदृढ भएको बताउनुभयो । विद्यार्थीको सफलता विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी स्वयंको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक तथा प्रतिस्पर्धात्मक शिक्षामा जोड दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि संस्था निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेशनल प्याब्सन पर्साले आगामी वर्षहरूमा पनि उत्कृष्ट विद्यार्थीहरूको मनोबल बढाउन यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, पर्सा हिसानका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, विभिन्न निजी विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमले उत्कृष्ट विद्यार्थीहरूको सम्मानसँगै गुणस्तरीय शिक्षाको प्रवर्द्धन, विद्यालय–अभिभावक सम्बन्ध सुदृढीकरण तथा शैक्षिक क्षेत्रमा सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।