मकवानपुर, असोज २४ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक डिएसपी पुष्कर बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अवैध व्यापार नियन्त्रणमा पुनः एक उल्लेखनीय सफलता हासिल गरेको छ । टोलीले चौँतीस लाख रुपैयाँ बराबरको भन्सार छलि गरी ल्याइएका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरी दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मिति २०८२ असोज २४ गते बिहान ४:१० बजेको समयमा हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडि पूर्व–पश्चिम राजमार्गमा नियमित जाँचका क्रममा मधेश प्रदेश ०३–००१च ९०२३ नं.को योद्धा गाडी रोकी तलासी गर्दा उक्त सामान फेला परेको हो ।
गाडी चालक रौतहट बृन्दाबन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय बिजय साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गाडीको पछाडिको ढालाभित्र लुकाइ–छिपाइ ल्याइएका साडी १३० थान, कुर्था ६९६ थान र टप्स १७५ थान गरी जम्मा १००१ थान कपडा (अन्दाजी रु. १४ लाख) र प्रतिबन्धित पटकाजन्य पदार्थ झिरझिरे लगायतका वस्तु (अन्दाजी रु. २० लाख) फेला परेका थिए ।
यस सफल कारवाहीको श्रेय डिएसपी पुष्कर बोगटीको दृढ नेतृत्व, सूक्ष्म योजनाबद्धता र पेशागत दक्षतालाई दिइएको छ । उहाँको निर्देशनमा खटिएको प्रहरी टोलीले सावधानीपूर्वक निगरानी र सूचनाको प्रयोग गर्दै अवैध सामान नियन्त्रणमा लिएको हो ।
स्थानीय व्यापारी, उद्योगी र सर्वसाधारणले पनि डिएसपी बोगटीको यो कार्यको खुला हृदयले प्रशंसा गर्दै भन्सार राजस्व छलि र प्रतिबन्धित व्यापारविरुद्ध प्रहरीको सक्रियताले समाजमा कानूनको शासन र पारदर्शी व्यापार संस्कृतिलाई बल पुर्याएको बताएका छन् ।
डिएसपी बोगटीले भन्नुभयो, “राजस्व छलि र अवैध कारोबार गर्ने जो कोही पनि कानूनी दायराबाट उम्कन सक्दैनन् । जनताको विश्वास र राष्ट्रको हित हाम्रो पहिलो प्राथमिकता हो।”
मकवानपुर प्रहरीको यो उदाहरणीय कारवाहीले प्रदेशभर प्रहरीको छवि थप उचो बनाएको छ र डिएसपी पुष्कर बोगटीलाई एक निष्ठावान, इमानदार र परिणाममुखी प्रहरी अधिकारीको रूपमा पहिचान दिलाएको छ ।
✍️ सुष्मिता यादव