वैशाख ४, बारा — पत्रकारको आडमा व्यापारीहरूलाई धम्की दिँदै रकम असुली गर्ने कार्यमा संलग्न एक व्यक्ति बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोलमा बसोबास गर्दै आएका ४५ वर्षीय विष्णु सर्राफ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार सार्वजनिक गरेको जानकारी अनुसार, सर्राफले आफूलाई पत्रकार भनी परिचय दिँदै बारा जिल्लामा व्यापार व्यवसाय गर्नेहरूलाई धम्क्याएर रकम असुल गर्दै आएको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
उक्त सूचनाको आधारमा अनुसन्धान अघि बढाउँदै गएको प्रहरीले सर्राफलाई बैशाख ४ गते प्रसौनी गाउँपालिका–३ स्थित गण्डक चोकबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार सर्राफमाथि धाकधम्की, अभद्र व्यवहार र गैरकानुनी रूपमा रकम असुली गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
प्रहरीले यस्ता गैरकानुनी कार्यमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले व्यापारीहरूमाथि हुने यस्ता गतिविधिहरूको तत्काल सूचना दिन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।