१८ बीरगञ्ज-नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर  ३ रुपैयाँ घटाएको छ । शुक्रबार आज राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।जसअनुसार डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

निगमका अनुसार  भारतीय आयल कर्पोरेसन (आईओसी) बाट  आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ ।

तर, नेपाल सरकारले बजेटमार्फत जेठ १६ गतेबाटै लागु हुनेगरी पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले 'हरित कर' लगाएकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत वीरगन्ज , विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र  चारआलीमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ ।

यसैगरी  तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।