२५ जेठ बीरगञ्ज (पर्सा )-वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ ।
५० हेक्टर क्षेत्रफल ओगट्ने यस चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो ।
'अहिले सम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, उहाले भन्नुभयो, बाकी घेराबार गर्ने काम पनि भइरहेको र केही स्थानमा भने ब्यक्तिहरुले कब्जा गरिराखेकाले त्यो अतिक्रमण हटाउनु पर्ने देखिएको छ ।'
निकुन्जले शुक्रबारा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बैठक राखेर चिडियाखानाको सीमाभित्र पर्ने अतिक्रमण हटाउने विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
बैठकले चिडियाखासनाको पेरिमिटरमा भएको अतिक्रमण हटाउन सार्वजनिक सूचनामार्फत आह्वान गर्ने र अटेर गरे नियमानुसार खाली गराउने निर्णय गरेको छ ।
यस्तै सीमांकनका लागि सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध समेत गर्ने निर्णय गरेको छ ।
महानगर प्रमुख सिंहको नेतृत्वमा सरोकारवालाहरुको टोलीले चिडियाखानाको घेराबारको काम अनुगमन गर्ने र अनुगमन पछि आएको सुझाव अनुसार बांकि प्रकृया समेत अघि बढाउने निर्णय पनि भएको छ ।
बैठकमा महानगर प्रमुख सिंहले प्रकृतिक यहाँका नागरिक चिडियाखाना निर्माणको व्यग्र प्रतिक्षामा रहेकाले यसको निर्माण कार्य कुनै पनि बहानामा ढिलाई हुन नहुने बताउनु भयो । साथै उहाँले चिडियाखानाको पेरिमिटरमा पर्ने अतिक्रमण सबैको समन्वयमा हटाउन महानगर लागि पर्ने पनि बताउनु भयो ।