काठमाडौं, भदौ २३ सामाजिक सञ्जाल बन्दको विरोधमा राजधानीमा जारी जेन–जेड आन्दोलन झन् उग्र बनेको छ । सोमबार साँझसम्म काठमाडौंका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या बढेर १५ पुगेको पुष्टि भएको छ ।

ट्रमा सेन्टरमा थप एक जना घाइते प्रदर्शनकारीको उपचारको क्रममा निधन भएपछि त्यहाँ मात्रै मृतकको संख्या ७ पुगेको हो । त्यस्तै, सिभिल अस्पतालमा ३, केएमसी सिनामंगलमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको आधिकारिक विवरणमा उल्लेख गरिएको छ ।

हालसम्म कति जना घाइते भएको भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन। तर, काठमाडौंका विभिन्न अस्पतालमा ठूलो संख्यामा घाइतेहरू उपचाररत रहेको स्रोतले जनाएको छ ।

दिउँसो संसद भवन आसपास सुरु भएको प्रदर्शन साँझतिर झन् उग्रिँदै गएको थियो। प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप हुँदा सुरक्षा बलले बल प्रयोग गर्नुपरेको थियो ।

राजधानीका संवेदनशील क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ भने आन्दोलनकारीहरूले आन्दोलनलाई अझ व्यापक बनाउने चेतावनी दिएका छन् ।