जिल्ला प्रहरी कार्यालय पर्साले २०८० भदाै २० गते राति १२ बजेको समयमा बिल विजक भन्दा बढी केमिकल्स तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेकाे छ । 

प्रहरीले गुप्त सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा बा.प्रदेश ०१-००६ ख २७३१ नम्बरको मालवाहक ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साकाे टाेलीले रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएपछि चेकजाँच गरिएकाे थियाे ।

प्रहरीले चेकजाँच गर्ने क्रममा रू ४१,५२,३१९।– (एकचालिस लाख बाउन्न हजार तीन सय उन्नाइस) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको केमिकल्स तथा खुद्रा सामानहरू नियन्त्रणमा लिएकाे थियाे । नियन्त्रणमा लिइएकाे सामान थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८० भदाै २१ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जानकारी दिएकाे छ।