७ साउन, बीरगंज -जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंज पर्साका प्रहरी निरीक्षक लोकराज भट्टलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले असार महिनाको “POLICE OF THE MONTH” घोषणा गरेको छ। उहाँको कर्मनिष्ठा, इमान्दारिता, र सेवामूलक दृष्टिकोणको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो।
प्रहरी निरीक्षक भट्टले विभागीय मूल्य मान्यता, आदेश, निर्देशनअनुसार पूर्ण समर्पणका साथ कार्य सम्पादन गर्दै वीरगंज तथा मातहत ट्राफिक इकाइहरूमा ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण, सवारी नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा उल्लेखनीय सफलता हासिल गर्नुभएको थियो।
हालै सम्पन्न आर्थिक वर्षको समिक्षामा वीरगंज ट्राफिक कार्यालयले मधेश प्रदेशभित्रका आठवटै ट्राफिक कार्यालयहरूलाई पछि पार्दै सबैभन्दा धेरै राजस्व संकलन गर्न सफल भएको छ। साथै कार्यसम्पादन सम्झौतामा उल्लेखित लक्ष्यहरू हासिल गर्न र नागरिकस्तरमा ट्राफिक जनचेतना अभिवृद्धिका लागि विविध कार्यक्रम सञ्चालन गर्दै उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।
पथलैयास्थित ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवालले प्रहरी निरीक्षक भट्टको योगदानको प्रशंसा गर्दै “यो सम्मान वीरगंज ट्राफिक प्रहरी टोलीको सामूहिक समर्पण, जिम्मेवारीप्रतिको निष्ठा र प्रभावकारी नेतृत्वको परिणाम हो,” भन्नुभयो।
उक्त उपलब्धिले न केवल प्रहरी निरीक्षक लोकराज भट्टको व्यक्तिगत दक्षता र प्रतिबद्धतालाई उजागर गरेको छ, तर वीरगंज ट्राफिक प्रहरी कार्यालयको सेवा गुणस्तर र जनमैत्री प्रहरी अवधारणालाई समेत थप सुदृढ बनाएको छ ।