चैत ७— मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । पवित्र रमजान महिनाभरि रोजा (उपवास) बसेपछि मनाइने यस पर्वले आत्मसंयम, त्याग, सहानुभूति र मानवताका मूल्यहरूलाई झल्काउँछ ।

एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म रोजा बसेका मुस्लिमहरूले आज बिहान मस्जिद तथा ईदगाहमा विशेष नमाज अदा गरेका छन् । नमाजपछि एकअर्कालाई अंगालो हाल्दै “ईद मुबारक” भन्दै शुभकामना आदानप्रदान गरिएको छ ।

यस अवसरमा परिवार तथा आफन्तबीच मिठा परिकारहरू जस्तै सेवैयाँ, खीर, मिष्ठान्न तथा विभिन्न परिकार तयार गरी बाँड्ने चलन रहेको छ । साथै, आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायलाई “जातिले  सदाकात फित्र” (दान) दिने परम्पराले समाजमा सहयोग र सहकार्यको भावना बढाउदै आएको छ ।

देशका विभिन्न स्थान काठमाडौं, बिरगञ्ज, नेपालगञ्ज लगायत विभिन्न क्षेत्रमा ईदको रौनक देखिएको छ । बजारहरूमा केही दिनअघिदेखि नै किनमेलको चहलपहल बढेको थियो ।

राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरूले ईदको अवसरमा शुभकामना सन्देश दिँदै देशमा शान्ति, सद्भाव र सहिष्णुताको कामना गरेका छन् ।

ईद उल फित्रले धार्मिक सहिष्णुता, सामाजिक एकता र पारस्परिक सम्मानको सन्देश दिने भएकाले यो पर्व केवल मुस्लिम समुदायमा मात्र सीमित नभई सम्पूर्ण नेपाली समाजका लागि पनि महत्वपूर्ण पर्वको रूपमा स्थापित हुँदै गएको छ ।