नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको छ । विदेशी मुद्राको सञ्चिती बढ्दै गएपछि आज जारी गरेको एकीकृत परिपत्रअनुसार केन्द्रीय बैंकले यसअघिको व्यवस्थालाई लचिलो बनाउँदै आयात केही खुकुलो बनाएको हो ।

पहिला भण्डारणमा विदेशी मुद्राको सञ्चिती घट्दै गएकोले केन्द्रीय बैंकले आयातमा कडाई गरेको थियो । जस अनुसार एक पटकमा ५० हजार अमेरिकी डलरभन्दा धेरैको एलसी खोल्न नपाउने व्यवस्था गरिएको थियो । अब नयाँ व्यवस्थाअनुसार आयातकर्ताले ६० हजार अमेरिकी डलर सम्मको एलसी खोल्न पाउने भएका छन् ।

रेमिट्यान्सको आप्रवाह बढ्दै गएपछि केन्द्रीय बैंकको भण्डारमा ११ महिनाभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिती छ ।