६ साउन,बीरगंज - बीरगंज महानगरपालिका–१६ माईधिया पोखरीस्थित एक बिजुली पोलमा आज बेलुकी सर्ट सर्किटका कारण अचानक आगलागी हुँदा स्थानीयवासी केही समयका लागि त्रसित बनेका थिए। तर तुरुन्तै प्रहरीको सक्रियता र विशेषगरी प्रहरी चौकी बसपार्कका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) धिरेन्द्र थपलियाको साहसिक हस्तक्षेपका कारण आगो नियन्त्रणमा लिन सकिएको छ।

सई थपलियाले कुनै सुरक्षात्मक उपकरण विना नै आफ्नै ज्यानको पर्वाह नगरी सिधै घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरे। प्रत्यक्षदर्शीहरूका अनुसार, उनले कुनै हिचकिचाहट नगरी तत्काल हस्तक्षेप गरे, जसले सम्भावित ठूलो दुर्घटना हुनबाट रोकेको हो।

जनधनको सुरक्षामा जीवनको बाजी

सामान्यतया, बिजुली पोलमा भएको आगलागी सानो क्षणभित्रै ठूला क्षतिको कारण बन्न सक्छ। तर सई थपलियाले देखाएको तीव्र प्रतिकृया, आत्मबल र जनउत्तरदायित्वको भावना प्रशंसनीय छ। उहाँको साहसिक कदमले आसपासका घर तथा जनधनलाई क्षति हुनबाट जोगाएको छ।

स्थानीयवासीबाट प्रशंसा र सम्मानको माग

स्थानीय बासिन्दाहरूले सई थपलियाको कार्यलाई असल प्रहरीको आदर्श व्यवहारको रूपमा लिएका छन्। उनीहरूका अनुसार, “संकटमा प्रहरी नै नागरिकको पहिलो सहारा हो। सई थपलियाले जुन प्रकारले आफ्नो ज्यानको जोखिम मोलेर आगलागी नियन्त्रण गरे, त्यो साहसिकता हाम्रा लागि प्रेरणादायी छ।”घटनापछि स्थानिय समुदायले सई थपलिया र उनको टोलीप्रति आभार व्यक्त गरेका छन् ।

एक प्रेरणादायी उदाहरण

सई थपलियाले निर्वाह गरेको भूमिका न केवल प्रहरी सेवा भित्रको कर्तव्यनिष्ठताको प्रमाण हो, तर संकटमा नागरिकको जीवन र सम्पत्तिको सुरक्षामा प्रहरीको समर्पण र प्रतिबद्धताको उजागर पनि हो।

यो घटनाले प्रहरीको भूमिकालाई केवल कानुनी कारबाहीसम्म सीमित नराखी, मानवता, सेवाभाव र जनउत्तरदायित्वको मूर्त रूपका रूपमा देखाएको छ। सई थपलियाको साहसिकता र कर्तव्यनिष्ठालाई सम्मान गर्दै वीरगञ्जवासीले यस्तो समर्पित प्रहरीप्रति गर्व व्यक्त गरेका छन्।