वीरगञ्जमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

गएराती वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००४ प ७९३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना २५ प ४००३ नम्बरको मोटरसाइकल गएराति ९ बजे आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएका दुवै मोटरसाइकलका चालकहरूलाई प्रहरीले उपचारका लागि एलएस न्यूरो अस्पताल बारामा भर्ना गराएको थियो । उपचारका क्रममा ७९३० नम्बरका मोटरसाइकलका चालक बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरका अन्दाजी २६ बर्षीय सुरज सर्राफको उपचारको क्रममा राती २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।