२० साउन पर्सा- सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक (ड्राइपोर्ट) सुरेन्द्र राज खड्काले वीरगंजस्थित मानवसेवा आश्रमको अवलोकन गर्दै सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।

उक्त अवलोकन भ्रमणको क्रममा उहाँहरूले आश्रममा आश्रित वृद्धवृद्धाहरूसँग आत्मीय समय बिताए, कुराकानी गरे र बिहानको भोजन सेवामा समेत सक्रिय सहभागिता जनाएका थिए। मानवताको सेवामा समर्पित यो कार्यले उहाँहरूको संवेदनशीलता, सामाजिक उत्तरदायित्वप्रतिको निष्ठा र मानवीय भावना झल्काएको छ।

भ्रमणका क्रममा एसपी भट्ट र निरीक्षक खड्काले आश्रमप्रति उच्च सम्मान प्रकट गर्दै आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रुपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस प्रकारको सहभागीता सशस्त्र प्रहरीको ‘सुरक्षा र सेवा’ भन्ने मूल मन्त्रलाई अझ अर्थपूर्ण बनाउँदै मानव सेवाप्रतिको गहिरो समर्पण प्रस्तुत गरेको देखिन्छ। देशको सीमा र जनताको सुरक्षासँगै समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्दै अगाडि बढ्नु सशस्त्र प्रहरीको भूमिकालाई अझ सशक्त बनाएको छ।

उक्त कार्यक्रममा मानवसेवा आश्रम वीरगंजका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, संयोजक मुना मगर पुलामी, प्रदुमन सर्राफ, पवन कलवार, आयुष गिरी लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरीको यस्तो सकारात्मक पहलकदमीले समाजमा सुरक्षाकर्मीहरूको मानवीय पक्ष उजागर गर्नुका साथै अन्य निकायलाई पनि सामाजिक सेवातर्फ प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।