मार्च २८, २०२५ – आज शुक्रबार थाइल्याण्ड र म्यान्मारमा दुई शक्तिशाली
भूकम्प गएपछि दक्षिणपूर्वी एसियामा ठूलो संख्यामा भवनहरू हल्लिएका छन् । थाइल्याण्डको राजधानी बैंककमा भवनहरू
हल्लिएपछि हजारौं मानिसहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
बैंकक प्रहरीका अनुसार, पहिलो भूकम्प जाँदा निर्माणाधीन गगनचुम्बी भवन भत्किएको छ।
उक्त भवन ३० तल्ले बन्ने योजना थियो, जसमा ४३ जना मजदुर फसेको खबर छ । दुर्घटनास्थल बैंककको प्रसिद्ध चातुचाक बजार नजिक रहेको छ ।
म्यान्मारको
दोस्रो ठूलो सहर मन्डलेमा पनि केही भवनहरू भत्किएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले धेरै
क्षतिको आशंका व्यक्त गरेका छन् ।
७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
अमेरिकी भूगर्भ
सर्वेक्षण (USGS) र जर्मनीको जीएफजेड जियोसाइन्स सेन्टरका
अनुसार पहिलो भूकम्प ७.७ म्याग्निच्युडको थियो, जुन सतहबाट केवल १० किलोमिटर गहिराइमा गएको थियो । यस भूकम्पको केन्द्र म्यान्मारको
मोन्य्वा सहरदेखि ३० माइल पूर्व रहेको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।
१२ मिनेटपछि ६.४ म्याग्निच्युडको अर्को शक्तिशाली परकम्प गएको थियो ।