१५ असार बीरगञ्ज - आज २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने परम्परा रहेको छ।
नेपाल कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । अझ धान त नेपालको प्रमुख खाद्यान्न बाली हो । प्राय हामी सबैलाई भात मनपर्छ र भातले नै हाम्रो भोक मेटाउँछ । त्यसैले होला किसान पनि वर्षभरको छाक जुटाउनको लागि यो महिना खेतीमा व्यस्त हुन्छन् ।
मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने असारे भाकामा ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ ।खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिएको छ ।