श्रीमतीको हत्या गरी शवलाई माटोमा गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका-८ स्थित नयाँ खसिबजार निवासी ३३ वर्षीय मनोज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार बस्नेतले चार दिनअघि ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरी घरदेखि दुई मिटर उत्तर चौरमा शव गाडेका थिए ।

स्थानीयले आज दिउँसो ४:५० बजे गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव फेला परेपछि अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए

उदयपुर रामपुर-८ घर भई उनीहरू अर्जुनधारा ८ मा बस्दै आएका थिए । सामान्य मजदुरी गर्दै आएका बस्नेतले पारिवारिक कलहका कारण श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।