भदौ ३०,वीरगञ्ज सीमा सुरक्षामा सशस्त्र प्रहरीको निगरानी थप कडा बन्दै गएसँगै पर्सामा लागूऔषध ओसारपसारको नयाँ शैलीसमेत बाहिर आएको छ । सशस्त्र प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाइएको करिब ९.५ किलोग्राम चरेसजस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको गाडी मोबाइल टोलीले शंकास्पद रूपमा आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र विशेष तरिकाले फल्स बटम बनाएर लुकाइएको अवस्थामा २१ पोका लागूऔषध चरेसजस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद पदार्थको तौल अन्दाजी ९.५ किलोग्राम रहेको छ। लागूऔषधसँगै एक थान मोबाइल फोन तथा लागूऔषध ओसारपसारमा प्रयोग भएको भारतीय नम्बर प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्ति भारतीय नागरिक रहेको जनाइएको छ। प्रारम्भिक जाँचपछि नियन्त्रणमा लिइएका व्यक्ति, बरामद पदार्थ, मोटरसाइकल तथा अन्य सामग्रीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा बुझाइएको छ ।
सीमा सुरक्षामा एसपी क्षेत्रीको सक्रिय नेतृत्व
पर्सामा सीमा अपराध, चोरी–तस्करी तथा लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी र गस्तीलाई प्रभावकारी बनाउँदै आएको छ। त्यसैको परिणामस्वरूप लागूऔषध कारोबारीहरूले अपनाउने नयाँ–नयाँ शैलीसमेत सुरक्षा टोलीको निगरानीबाट उम्कन नसकेको देखिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीको नेतृत्वमा सीमा क्षेत्रमा परिचालन हुने टोलीलाई थप सक्रिय, चुस्त र जिम्मेवार बनाइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथि कडा निगरानी, नियमित गस्ती तथा शंकास्पद गतिविधिमाथि सूक्ष्म निगरानी गर्ने रणनीतिले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको देखिन्छ ।
मोटरसाइकलको सामान्य जाँचबाट सुरु भएको कारबाहीमा ट्याङ्कीभित्रै विशेष संरचना बनाएर लुकाइएको ठूलो परिमाणको पदार्थ फेला पारिनुले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको सतर्कता, व्यावसायिक दक्षता र अनुसन्धानमुखी जाँच प्रणालीलाई समेत पुष्टि गरेको छ ।
एसपी क्षेत्रीको नेतृत्वमा सशस्त्र प्रहरीले सीमा सुरक्षासँगै लागूऔषध नियन्त्रण र अवैध ओसारपसार नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको छ । सीमा क्षेत्रमा खटिने टोलीलाई सक्रिय रूपमा परिचालन गर्दै शंकास्पद व्यक्ति, सवारीसाधन तथा गतिविधिमाथि निगरानी बढाइँदा तस्करी र लागूऔषध कारोबारमा संलग्न समूहलाई चुनौती थपिएको छ ।
यस घटनाले लागूऔषध कारोबारीहरूले जति नै चलाखीपूर्ण तरिका अपनाए पनि सशस्त्र प्रहरीको सतर्क निगरानी र प्रभावकारी सुरक्षा संयन्त्रबाट उम्कन सहज छैन भन्ने सन्देश दिएको छ ।
सशस्त्र प्रहरीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार बरामद पदार्थ चरेसजस्तो देखिने रहेको र घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
सशस्त्र प्रहरीको यस्तो सक्रियताले सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार नियन्त्रणसँगै नागरिकको सुरक्षा र सीमावर्ती क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।