१८ भदौ बीरगञ्ज -नेपाल प्रहरीले एकैपटक धेरै संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार  पर्सा सहित देशैभरका ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकसाथ सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार एकै पटक नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडा पनि सरुवा भएका छन् । खतिवडाको मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर ४ टर्की, अफ्रिका र अन्यमा सरुवा भएको छ । उनको ठाउँमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रबन्ध शाखा धनगढी कैलालीबाट लोकराज भट्ट आउने भएका छन् । 

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, बजेट शाखा नक्साल काठमाडौँमा सरुवा भएको छ । उनको ठाउँमा जिल्ला प्रहरी परिसर काठमाडौँ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नीरोज चौलागाईं आउने भएका छन् । 

वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिंगको मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर २ मध्य पूर्व, दक्षिण पूर्व र पूर्वी एसियामा सरुवा भएको छ । उनको ठाउँमा प्रहरी वृत्त लैनचौर काठमाडौँको अपराध नियन्त्रण शाखाबाट श्याम कुमार बस्नेत आउने भएका छन् ।

सरुवा हुने  कतिपय इन्सपेक्टरहरूले मालदार ठाउँबाट अर्को मालदार ठाउँ नै भेटेका छन् भने अधिकांशप्रति खासै न्याय पाएका छैनन् ।कोही सदैव इन्चार्जबाट इन्चार्ज त कोही एउटा मालदार ठाउँबाट अर्को मालदार ठाउँमा टाईसिकै रूपमा भएपनि सरुवा पाएका छन्।यसलाई प्रहरी भित्रको मत्स्य  न्यायको रूपमा व्याख्या गरिएको छ ।