नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

आज (बिहीबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।