पर्सा, असार  - १० — सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाल र प्रस्तावित सीमा सुरक्षा गुल्म (प्र.सी.सु.गुल्म) वीरगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाको प्रभावकारी रणनीति र सतर्क नेतृत्वमा पर्सा जिल्लाको सीमा क्षेत्रमा चोटी पैठारी, तस्करी तथा अनैतिक गतिविधिहरूमा उल्लेखनीय नियन्त्रण आएको छ ।


सीमा सुरक्षामा सक्रियता देखाउँदै सशस्त्र प्रहरीले हालै मात्र भारतबाट अवैध रूपमा भन्सार छलि ल्याइएको रु. ६,६९,७०० बराबरको सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।

मिति २०८२ साल असार १० गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा, प्र.सी.सु.गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१६, नगवा टोलस्थित रमुना सहनीको तीनतले पक्की घरको ग्राउण्ड फ्लोरमा लुकाईछिपाई राखिएको सामान फेला पारेको हो ।

बरामद गरिएको सामग्रीमा रिभोल्बिङ चेयर , चेयर हुइल, जिरा, सोफा कभर लगायत रु. ५,५७,७०० बराबरको सामान र सो कार्यमा प्रयोग गरिएको एक थान मोटरसाइकल समेत समावेश रहेको छ । बरामद सामानलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

एसपी धिमालको नेतृत्वमा भइरहेको नियमित निगरानी, सूचनाको भरपर्दो व्यवस्थापन र सशस्त्र प्रहरीको गस्ती सक्रियताका कारण सीमा क्षेत्रमा देखिँदै आएका आपराधिक गतिविधिहरूमा उल्लेखनीय ह्रास आएको छ । डिएसपी सुब्बाको सशक्त समन्वय क्षमताले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ बनाएको छ ।

स्थानीय तह, भन्सार कार्यालय र नागरिक समाजले सशस्त्र प्रहरीको दृढ इच्छाशक्ति र पारदर्शिता युक्त कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै सुरक्षा संस्थाको भूमिकालाई थप सशक्त बनाउन आग्रह गरेका छन् ।