वीरगञ्जको माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटीमा बर्षौ देखि लाग्दै आएको तरकारी तथा फलफूल बजारलाई गिता मन्दिर नजिक रहेको खाली जग्गामा व्यवस्थापन गरिएको छ ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बजार व्यवस्थित बनाउन सडक पेटीमा अव्यवस्थित रहेका तरकारी तथा फलफूल बजारलाई खाली ठाउँमा व्यवस्थापन गर्न गएको बुधबार सूचना जारी गर्दै माइस्थानदेखि नेपाल टेलिकमसम्मको सडकपेटी, २ र ३ नम्वर रोड आसपासको सडकपेटीमा अव्यवस्थित तरकारी बजार लगाइरहेकालाई गिता मन्दिर नजिकको खाली जग्गामा स्थानान्तरण हुन आग्रह गरेको थियो ।
मिना बजार क्षेत्रको सडक पेटीमै लाग्ने गरेको तरकारी तथा फलफूल बजारले आउजाउमा असहज भएपछि वीरगञ्ज महानगरपालिकाले गिता मन्दिर नजिकको खाली जग्गामा व्यवस्थापन गरेको हो । महानगरपालिकाको नगर प्रहरी र सरसफाई शाखाका प्रतिनिधिको रोहबरमा व्यवसायीलाई पसल संचालनका लागि खाली जग्गामा व्यवस्थापन गरिएको हो ।
मेयर सिंहको निर्देशन बमोजिम सोमबारदेखि सडक पेटीमा यात्रु आउजाउ गर्नै नमिल्ने गरी थापिएका तरकारी तथा फलफूल पसललाई खाली जग्गामा स्थानान्तरण गरिएको महानगरका सरसफाई शाखा प्रमुख सर्फुद्धिन मियाँले जानकारी दिए ।