डिएसपी प्रकाश चन्द्र भट्टको नेतृत्वमा १५०० थान लागुऔषध इन्जेक्सन बरामद
१ असार ,बारा – सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश जितपुरद्वारा लागुऔषधसहित ठूलो परिमाणमा इन्जेक्सन बरामद गरिएको छ। वीरगञ्जबाट हेटौंडातर्फ गइरहेको यात्रुबाहक बसबाट वेवारिस अवस्थामा राखिएको झोलामा शंका लागी चेकजाँच गर्दा उक्त लागुऔषधहरू फेला परेको हो ।
शुक्रवार दिउँसो करिब २:३५ बजे बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–०७ लल्कापुलस्थित सशस्त्र प्रहरी सुरक्षा वेश जितपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश चन्द्र भट्टको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले उक्त बसमा चेकजाँच गर्ने क्रममा झोला फेला पारेको थियो। उक्त झोलाबाट फेनेर्गन (Phenergan) इन्जेक्सन – ५०० थान,बुप्रेनोर्फिन (Buprenorphine) इन्जेक्सन – ५०० थान, डायाजेपाम (Diazepam) इन्जेक्सन – ५०० थान गरी कुल १५०० थान लागुऔषध इन्जेक्सन फेला परेपछि सो सामग्रीहरू सशस्त्र प्रहरी वेश जितपुरको कम्पाउन्डभित्र स्थानीयको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ। साथै घटनासम्बन्धी थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

सशस्त्र प्रहरीले पछिल्लो समयमा सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि चेकजाँच र गस्तीलाई थप कडाइ गर्दै आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश जितपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश चन्द्र भट्टले सीमावर्ती क्षेत्र हुँदै भइरहने अवैध तस्करी नियन्त्रणमा पूर्ण विराम लगाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । हालै जितपुरमा लागुऔषधसहित ठूलो परिमाणमा इन्जेक्सन बरामद भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तस्करीविरुद्ध अझै प्रभावकारी र योजनाबद्ध अभियान सञ्चालन गरिने स्पष्ट पारेका हुन् ।
उनले भने, “सीमावर्ती क्षेत्रलाई लागुऔषध, अवैध सामान तथा तस्करीजन्य गतिविधिबाट मुक्त गराउनु नै हाम्रो प्रमुख उद्देश्य हो। यस अभियानमा कुनै कसर बाँकी राखिँदैन । निगरानी, गस्ती तथा खुफिया संयन्त्रलाई थप सशक्त बनाइएको छ ।”
सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका साथै राष्ट्रहितमा अवैध कारोबार नियन्त्रण गर्न अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्दै सर्वसाधारणलाई पनि यस्ता आपराधिक गतिविधि देखेमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।
सशस्त्र प्रहरी बल बाराले तस्करी र लागुऔषध नियन्त्रणमा देखाएको सक्रियता र नतिजामूलक कार्यशैलीप्रति स्थानीयवासीले प्रशंसा व्यक्त गरेका छन् ।