उत्तराखण्डको केदारनाथ नजिक आइतवार बिहान एक निजी कम्पनीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। उक्त हेलिकप्टरले आइतवार बिहान ५:२४ बजे केदारनाथका लागि उडान भरेको थियो । हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए। प्रारम्भिक जानकारी अनुसार, दुर्घटनामा सबैको मृत्यु भएको बताइएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भने अझ हुन बाँकी छ ।
अहिलेसम्म प्राप्त जानकारीअनुसार, दुर्घटनाको कारण खराब मौसम मानिएको छ। दुर्घटनाको खबर प्राप्त भएपछि राष्ट्रिय विपद् प्रतिकार्य बल (NDRF) र राज्य विपद् प्रतिकार्य बल (SDRF) का उद्धार टोलीहरू घटनास्थलतर्फ पठाइएको छ ।

रुद्रप्रयागका जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह रजवारका अनुसार, यो दुर्घटना गौरीकुण्ड नजिकको जंगल क्षेत्रमा भएको हो। मृतकमध्ये एक पाइलट र एक शिशु पनि रहेको जानकारी दिइएको छ । उनले जनाए अनुसार बिहान करिब साढे पाँच बजे हेलिकप्टरले केदारनाथबाट गुप्तकाशीका लागि उडान भरेको थियो, र केही समयमै दुर्घटनामा परेको हो ।