१९ जेठ बीरगंज - साउदी अरेबियाले २०२५ को हज पर्वको तयारीमा २,६९,६७८ व्यक्तिलाई हज अनुमति बिना मक्का प्रवेश गर्नबाट रोक लगाएको छ। अधिकारिहरूका अनुसार, यो कदम अत्यधिक भीड र गत वर्षको अत्यधिक गर्मीका कारण भएका मृत्युहरूलाई ध्यानमा राखेर लिइएको हो।

साउदी सरकारले हज नियम उल्लंघन गर्नेहरूलाई १०,००० साउदी रियाल (लगभग २,६६६ अमेरिकी डलर) जरिवाना, १० वर्षको प्रवेश प्रतिबन्ध र विदेशिहरूलाई देश निकाला गर्ने सजायको व्यवस्था गरेको छ। त्यसैगरी, तीर्थयात्रीहरूलाई मक्का र पवित्र स्थलहरूमा प्रवेश गराउने व्यक्तिहरूलाई ५०,००० रियालसम्मको जरिवाना र ६ महिना जेल सजायको व्यवस्था गरिएको छ। साथै, ती व्यक्तिहरूको सवारी साधन पनि जफत गरिनेछ। 

साउदी सरकारले यस वर्षको हज पर्वको सुरक्षाका लागि अत्याधुनिक प्रविधिको प्रयोग गर्दै मक्का र मिना क्षेत्रमा ड्रोन र अन्य निगरानी उपकरणहरूको प्रयोग बढाएको छ। यसका अतिरिक्त, अत्यधिक गर्मीबाट बच्नका लागि पानीको छिडकाव प्रणाली, ४०० पानी कुलर र १०,००० नयाँ बिरुवा रोपिएको छ।

साउदी अरबको हज मन्त्रालयले तीर्थयात्रीहरूलाई आधिकारिक च्यानलमार्फत मात्र हज अनुमति प्राप्त गर्न र अनधिकृत वेबसाइट र अभियानहरूबाट जोगिन सचेत गराएको छ। अधिकारिहरूका अनुसार, हज अनुमति बिना हज गर्न प्रयास गर्ने व्यक्तिहरूलाई पापको रूपमा हेरिएको छ।

साउदी अरबको यस कडा कदमले हज पर्वको सुरक्षामा सुधार ल्याउने र तीर्थयात्राको पवित्रता कायम राख्ने अपेक्षा गरिएको छ।