२७ साउन बीरगञ्ज - सर्लाहीमा आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो । 

बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलविजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । नियन्त्रणमा लिएको ट्रकबाट रु सात लाख बराबरको १० टन चिनी बरामद भएको छ ।

ट्रकका चालक ताप्लेजुङ जिल्लाको आठराइ त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षका झलक लिम्बू रहेका छन् । उक्त ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ । ट्रक चालक लिम्बुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।