विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेक्वा पर्सा र पथलैया राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–८ माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको घरमा छापा मारेर ठूलो परिमाणमा अवैध सुन र चाँदी बरामद गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले २,२५४.८६ ग्राम सुन र १०,३५४.०७ ग्राम चाँदी सहित नगद १ लाख ९ हजार नेपाली रुपैयाँ र ४१ हजार ६० भारतीय रुपैयाँ नियन्त्रणमा लिएको जनाएको छ । बरामद सामग्री राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए ।
उनका अनुसार सो क्रममा सुनजस्तो देखिने ५५९.१० ग्राम र चाँदीजस्तो देखिने ५५० ग्राम धातु समेत फेला परेको छ। बरामद गरिएका धातुहरू र नगद भन्सार छल्दै ल्याइएको आशङ्कामा नियन्त्रणमा लिइएको हो ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्माले बरामद सुन–चाँदीको परीक्षण र कानुनी अनुसन्धान प्रक्रिया अघि बढाइने बताए ।
उनका अनुसार, “राजस्व चुहावटको सूचनाका आधारमा बरामद गरिएको सामग्री परीक्षणपछि आवश्यक कागजातका आधारमा मुद्दा दर्ता गरिनेछ ।”
सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त अपरेसनले फेरि एकपटक वीरगञ्जलाई भन्सार छलीको मुख्य केन्द्र भएको चर्चा सार्वजनिक गराएको छ ।
यो सफल अपरेसन सशस्त्र प्रहरी बलका एसपी पुरण चन्द्र भट्टको प्रभावकारी नेतृत्वमा सम्पन्न भएको जनाइएको छ । स्थानीय स्तरमा राजस्व चुहावट नियन्त्रण र अवैध व्यापारविरुद्ध सशस्त्र प्रहरीको सक्रियता उच्च सराहना गरिएको छ ।