उत्तरी भारतको जम्मू कश्मीर राज्यको पहाडी डोडा जिल्लामा बुधबार एक यात्रुवाहक बस खाडलमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दुर्घटना क्षेत्रको मुख्य सहर श्रीनगरबाट करिब १२३ माइल दक्षिणपूर्वमा रहेको बटोटे-किशतवार राष्ट्रिय राजमार्गको पहाडी सडकमा भएको हो।


५५ जना बोकेको बस किश्तवाड सहरबाट दक्षिणी जम्मु सहरतर्फ जाँदै गर्दा सडकबाट चिप्लिएर ६०० फिटभन्दा बढी खाडलमा खसेको थियो ।


"दुर्भाग्यवश ३७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर छ," भारतीय संघीय मन्त्री डा जितेन्द्र सिंहले भने ।


भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


"जम्मु कश्मीरको डोडा जिल्लामा भएको बस दुर्घटनामा धेरै यात्रुको ज्यान गएको खबरले मलाई गहिरो दुःख लागेको छ। म शोक सन्तप्त परिवारका सदस्यहरूप्रति समवेदना प्रकट गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु," राष्ट्रपति मुर्मुले भने। 


"जम्मु र कश्मीरको डोडामा भएको बस दुर्घटना दुःखदायी छ," मोदीले भने, "आफ्ना नजिकका र प्रियजनहरू गुमाउने परिवारहरूप्रति समवेदना प्रकट गर्दै। म घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।"


मोदीको सरकारले दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई २ लाख भारतीय रुपैयाँ र घाइतेहरूलाई ५०,००० रुपैयाँ दिने घोषणा पनि गरेको छ।


भारतको हिमाली क्षेत्रमा सडक दुर्घटना हुने गरेको छ । सन् २०१९ मा छिमेकी जिल्ला किश्तवारमा यस्तै बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो। सोही वर्ष उत्तरी राज्य हिमाचल प्रदेशको पहाडी सडकमा बस अनियन्त्रित भई पहाडमा खसेर ४४ जनाको मृत्यु भएको थियो ।