काठमाडौँ । वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बेँसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया लाई पक्राउ गरी आज सार्वजनिक गरेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिएका छन् ।
उनले भने, “ बैदेशिक रोजगारीमा बेरोजगार युवायुवतिलाई आकर्षक तलबको लोभमा पारी पीडितबाट रु ४० लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितमध्येका एकजना लेखनाथ भुर्तेलले जाहेरी दिदा अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निज सुदेश सुनुवार मुखियालाई काठमाडौँ बौद्धबाट पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।
सुदेश सुनुवार मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिएका छन्।