असार १६, सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिक उत्सवको अवसरमा मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघद्वारा विभिन्न सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरू सफलता साथ सम्पन्न गरिएको छ ।

आज असार १६ गते, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको संयोजनमा वीरगञ्ज महानगरपालिका–१४, पिपरास्थित ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरियो। कार्यक्रममा संघका सदस्यहरू, सशस्त्र प्रहरी जवान र स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो। मन्दिर परिसरको स्वच्छता र धार्मिक स्थानप्रति सम्मान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो अभियान सराहनीय रहेको सहभागीहरू बताउँछन् ।

 सशस्त्र प्रहरी बल नेपाल नं.१३ गणको परिसरमा मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघ र जिल्ला रेडक्रस सोसाइटी पर्साको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। गर्मीका कारण वीरगञ्ज क्षेत्रमा बिरामीको संख्या बढ्दै गइरहेका बेला रक्तदानले जीवन बचाउने कार्यमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

उक्त रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक तथा नं.१३ गणका गणपति श्री राधेश्याम धिमाल, जिल्ला रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, प्रभु अस्पतालका संचालक दिलीप कार्की, इन्नोभेटिभ संस्थाका संचालक कमल चौगाई, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष डी.एन. अग्रवाल, एलाईड युथ सोसाइटीका ओम कुमार झा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

रक्तदान कार्यक्रममा कुल ४० जना रक्तदाताहरूले उत्साहपूर्वक सहभागी भएर मानवीय सेवामा आफ्नो योगदान दिए। यस कार्यक्रममार्फत समाजमा रगतको अभाव हटाउन सकिने विश्वास लिइएको छ ।

समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी परिवार महिला संघ मधेश प्रदेशको सक्रियता, समर्पण र सामाजिक चेतनाले समुदायमा सकारात्मक प्रभाव पार्ने निश्चित रहेको सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताएका छन् ।