पुस १९ गते, धनुषा जिल्लाको सखुवा क्षेत्रमा अवस्थित मुस्लिम समुदायको धार्मिक स्थल मस्जिदमाथि अज्ञात समूहद्वारा आक्रमण गरिएको छ । आक्रमणका क्रममा मस्जिदमा तोडफोड गर्नुका साथै मुस्लिम धर्मको पवित्र ग्रन्थ कुरानसमेत जलाइएको जनाइएको छ ।
यस घटनापछि स्थानीय मुस्लिम समुदाय आक्रोशित बनेको छ। उनीहरूले धार्मिक आस्थामाथि गरिएको यस्तो जघन्य अपराधको कडा शब्दमा निन्दा गर्दै दोषीलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्। धार्मिक स्थल र पवित्र ग्रन्थमाथि गरिएको आक्रमणले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिमा गम्भीर चुनौती सिर्जना गरेको समुदायको भनाइ छ ।
प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको र दोषी पहिचानका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।
जुनसुकै धर्म, आस्था र समुदायमाथि गरिने यस्ता आपराधिक तथा घृणित क्रियाकलापलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै सर्वसाधारणले समेत आपत्ति जनाएका छन् । सबै धर्म र आस्थाको सम्मान तथा संरक्षण गर्नु राज्यको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै, यस्ता दुस्कर्ममा संलग्न जो–कोहीलाई पनि कानुनको दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।