१६ असार बीरगञ्ज -माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ ।

बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

आइतबार १६ गते  बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०(एसईई) र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरिएको हो ।

यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८, १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो ।तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेड विद्यार्थीहरूलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो ।

 साउन २३ बाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यहीअनुसार बोर्डले तयारी गर्ने " मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिएका छन्।

प्रवक्ता दाहालले भने ‘बोर्डले नतिजा र प्रश्नपत्र तयारको काम गर्ने अरू काम प्रदेशले गरेपछि छिटो र गुणस्तरीय हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’


अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।