६ असोज, बीरगंज -पर्सा जिल्लामा सशस्त्र प्रहरी बल नं.१३ गणको सक्रियता र प्रभावकारी कमाण्डका कारण ठूलो मात्रामा लागुऔषध चरेस बरामद भएको छ।
मिति २०८२।०६।०६ गते अन्दाजी ०१:०० बजे विशेष सुचनाको आधारमा बीओपी प्रसौनी भाष्ठ्ठाबाट खटिएको मो.सा. गस्ती टोली (स.प्र.नि. चेतन बाहकोटीको कमाण्डमा) ६ जनाको टोलीले पोखरिया नगरपालिका–७, जगतपुर मननपुर गाउँमा सानो बाखा राखे फुसको छाप्रोलाई घेरा हाली सर्च गर्दा १९.१२६ के.जि. चरेस (२ वटा कालो झोलामा कार्टुनभित्र लुकाइएको अवस्थामा) फेला पारेको हो। घटनास्थलमा कोही व्यक्ति नपाइएपछि बरामद गरिएको चरेसलाई थप कारबाहीका लागि सु.बेश पोखरियाबाट खटिएको स.प्र.ना.उ. सम्भु कटुवाल नेतृत्वको गाडी मोबाइल टोलीले जिम्मा लिएर ईप्रका पोखरियामा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो।
एसपी भट्टको नेतृत्वमा निरन्तर सफलता
सशस्त्र प्रहरी बल नं.१३ गण पर्साका गणपति एसपी पुरण चन्द्र भट्टको नेतृत्वमा लागुऔषध नियन्त्रण र ओसार–पसार रोकथाममा पछिल्लो समय उल्लेखनीय सफलता प्राप्त भएको छ। एसपी भट्टले जिल्लाभरका गुल्म र बीओपी प्रमुखहरूलाई यस्ता आपराधिक गतिविधिहरूमा विशेष ध्यान दिन कडा निर्देशन दिएका छन्।
उहाँले भन्नुभयो –
“नेपाल–भारत सिमाना मित्रता र व्यापारको माध्यम हो, तर यसको दुरुपयोग गरी हुने अवैध गतिविधिहरू कुनै हालतमा सह्य हुने छैनन्। हामी २४ घण्टा राज्यको सुरक्षामा तत्पर छौँ।”
स्थानीय बासिन्दा र प्रशासनको प्रतिक्रिया
नेपाल–भारतको खुला सिमाना आसपासका स्थानीय बासिन्दाले पनि यस्तो कदमको प्रशंसा गरेका छन्। उनीहरूले अवैध लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिनुपर्नेमा जोड दिएका छन्।
सीमा सुरक्षामा नयाँ दिशा
यस घटनाले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा क्षमतामा जनतामा थप विश्वास जगाएको छ। चरेसजस्ता लागुऔषधहरूले केवल युवापुस्ताको स्वास्थ्य मात्र होइन, राज्यको अर्थतन्त्र र सामाजिक संरचनालाई समेत कमजोर बनाउँछन्। यसरी ठूलो मात्रामा बरामद हुनु आफैँमा सशस्त्र प्रहरीको सक्रियता र प्रतिबद्धताको प्रमाण हो।
यस सफलताले नेपाल–भारत सिमाना क्षेत्रमा लागुऔषध नियन्त्रण र सुरक्षा व्यवस्थामा नयाँ दिशा दिने विश्वास व्यक्त गरिएको छ।