हेटौंडा, असार १६ – सडक डिभिजन हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत सिरिसिया मितेरी पुलदेखि बहुअरी गणडक चोकसम्मको सडक खण्डमा सडक सीमा (राइट अफ वे) भित्र रहेका संरचना तथा भवनहरू हटाउन सम्बन्धित पक्षलाई अन्तिम चेतावनी दिएको छ।
डिभिजन कार्यालयले प्रकाशित गरेको अत्यन्त जरुरी सूचनाअनुसार उक्त सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने सडक सीमाको संरक्षण कार्य गत वैशाख ६ गतेदेखि सुरु गरिएको थियो । तर हालसम्म पनि केही व्यक्तिहरूले सडक सीमा भित्र रहेका जीर्ण तथा जोखिमयुक्त भवनमा बसोबास र व्यापार व्यवसाय सञ्चालन गरिरहेको पाइएको जनाइएको छ ।सडक डिभिजनले यस्ता जोखिमयुक्त भवन तथा संरचनामा बसोबास नगर्न र व्यापार व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ । कार्यालयले सूचनाको बेवास्ता गरी कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले वहन गर्नुपर्ने स्पष्ट पारेको छ ।
यस्तै, सडक सीमा भित्र अझै बाँकी रहेका संरचनाहरू पाँच दिनभित्र आफैं हटाउन सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ । तोकिएको अवधिमा संरचना नहटाएमा सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण अभियान अन्तर्गत डिभिजन कार्यालयले नै ती संरचना हटाउने जनाएको छ ।
सडक डिभिजन हेटौंडाका डिभिजन प्रमुख द्वारा जारी उक्त सूचनाले सडक विस्तार तथा सुरक्षा व्यवस्थापनका लागि सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ । स्थानीयवासी तथा व्यवसायीलाई समयमै आवश्यक व्यवस्था मिलाउन कार्यालयले अनुरोध गरेको छ ।