पर्सा, १६ असोज, २०८२ — सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय, पर्साको आयोजनामा वीरगंज महानगरपालिका–१६ स्थित पशुपतिनगर दलित बस्तीमा "सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम" अन्तर्गत बडादशैं विशेष कार्यक्रम भव्यरूपमा सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रममा सो टोलमा बसोबास गर्ने विपन्न वर्ग तथा दलित समुदायका ५० जना विद्यार्थीहरुलाई प्रति व्यक्ति ६ वटा कापी र १० वटा पेन्सिलका दरले जम्मा ३०० वटा कापी र ५०० वटा पेन्सिल वितरण गरिएको थियो । साथै, ३३ घरधुरीका अभिभावकहरुलाई १/१ थान बाल्टिन, जग, पिउस, जीवनजल तथा साबुन वितरण गरिनुका साथै उनीहरुलाई सहि तरिकाले हात धुने तरिका समेत सिकाइएको थियो ।

कार्यक्रममा करिब २५० जना स्थानीय बासिन्दाहरुलाई सामूहिक खाजाको व्यवस्था गरिएको थियो । साथै, सोही समुदायका बृद्धहरुबाट टिका र जमरा ग्रहण गरेका बालबालिकाहरुलाई टिका लगाइ शुभकामना दिने कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक पुरुषोत्तम भण्डारी, विभिन्न बी.ओ.पी. प्रमुखहरु, वीरगंज महानगरपालिका–१६ का वडाध्यक्ष श्री पर्शुराम चौरसिया, ईनर्वा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक राजकुमार राय यादव, सञ्चारकर्मी, स्थानीय भद्रभलाद्मी तथा सर्वसाधारण गरी करिब ३०० जनाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमबारे जानकारी सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले दिनुभयो ।

यस कार्यक्रमले सीमावर्ती क्षेत्रका विपन्न तथा दलित समुदायमा सशस्त्र प्रहरी बलको मानविय संवेदना, सामाजिक उत्तरदायित्व तथा जनमैत्री कार्यशैलीको स्पष्ट सन्देश दिएको स्थानीयले बताएका छन् ।