फाल्गुन ~ २१, नेपालमा केही समयअघि भएको ‘जेन–जी आन्दोलन’पछि उत्पन्न राजनीतिक परिस्थितिमा घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन आज देशभर अधिकांश स्थानमा शान्तिपूर्ण र सकुशल रूपमा सम्पन्न भएको छ । केही स्थानमा सामान्य छिटफुट घटना बाहेक समग्रमा मतदान प्रक्रिया शान्त वातावरणमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।
देशमा ‘जेन–जी आन्दोलन’पछि राजनीतिक अवस्था नयाँ मोडमा पुगेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै सरकार गठनपछि माननीय प्रधानमन्त्री सुशिला कार्कीले छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धताअनुसार तय गरिएको निर्वाचन आज सफलतापूर्वक सम्पन्न भएको हो ।
निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको सक्रिय परिचालनका कारण देशभर मतदाताले ढुक्क वातावरणमा हर्षोल्लासका साथ मतदान गर्न पाएका थिए । मतदान केन्द्रहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएकाले सम्भावित अवाञ्छित गतिविधिहरूलाई नियन्त्रणमा राख्न सफल भएको अधिकारीहरूले बताएका छन् ।
सुरक्षा निकायको समन्वय र सतर्कताका कारण देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको भन्दै सरोकारवालाहरूले सुरक्षा निकायप्रति आभार व्यक्त गरेका छन् ।
आज सम्पन्न भएको मतदानपछि अब मतगणनाको तयारी सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको परिणामप्रति देशभर चासोका साथ प्रतीक्षा गरिएको छ ।