वीरगंज सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले दाल भनेर प्रतिबन्धित विदेशी महँगो चुरोट आयात गर्ने एक फर्मलाई झण्डै पौने ११ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिको फर्मलाई ड्राइपोर्ट भन्सारले १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको छ ।
दुबईबाट मुङको दाल बोकेर वीरगन्जको ड्राइपोर्ट भन्सार आइपुगेको कन्टेनरमा ५८ लाख ३८ हजार खिली विदेशी चुरोट बरामद भयो, भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले भने, ‘भन्सार प्रज्ञापनपत्रमा मुङको दाल घोषणा भए पनि कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडि ४ सय कार्टुनमा चुरोट भेटिएको थियो । ड्राइपोर्ट भन्सारले जरिवाना तिर्नका लागि सम्पर्कमा नआएपछि र्फमका सञ्चालक नवराज गिरी विरुद्ध पक्राउ पुर्जी जारी गरिएको ड्राइपोर्ट भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए ।
कालिका इन्टरप्राइजेज नामक व्यापारिले २६ हजार ६१० केजी मुङको दाल आयात गरेको भनेपनि पछि हेर्दा कन्टेनरमा १४ हजार ८२५ किलो मात्रै दाल भेटिएको ड्राइपोर्ट भन्सारले जनाएको छ । आयातकर्ताले नेपालका ठूला होटल र रेष्टुराँमा बिक्रीका लागि मोन्ट भेरियन्स नामक उक्त चुरोट ल्याएको बुझिएको भन्सारको भनाइ रहेको छ ।